दलित आन्दोलन एकतामा जोड: दलित युवा सञ्जाल बागलुङको दोस्रो अधिवेशन सम्पन्न
बागलुङ, १८ साउन —
दलित आन्दोलनका अग्रदूत भगत सर्वजित विश्वकर्माको जन्मभूमि बागलुङमा दलित युवा सञ्जाल बागलुङको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनमा दलित आन्दोलन एकताबद्ध हुनुपर्नेमा जोड दिइएको छ।
कार्यक्रममा वक्ताहरूले विगतमा एकतामा आधारित दलित आन्दोलन अहिले खण्डित भएको बताउँदै पुनः सशक्त र संगठित बनाउनुपर्ने धारणा राखे।
गण्डकी प्रदेशसभा सदस्य गोविन्द नेपालीले भगत विश्वकर्माले दलित विभेदको वास्तविक स्वरूप उजागर गरे पनि अहिले आन्दोलन तितरबितर भएको उल्लेख गरे। “अभियान सफल पार्न युवाहरूले एकता देखाउन थालेका छन्,” उनले भने, “राजनीतिक दल, सामाजिक अगुवा र जनप्रतिनिधिको साथ आवश्यक छ।”
सांसद दिलमाया पौडीले संसदमा विचाराधीन रहेको दलित सशक्तिकरणसम्बन्धी विधेयक अब बल्ल छलफलमा आएको बताउँदै त्यसलाई दलितमैत्री बनाउने प्रतिबद्धता जनाइन्। उनले दलित समुदायभित्रको विभेद हटाउन पनि काम गरिने बताइन्।
कार्यक्रममा दलित महिला मात्र नभई वडा अध्यक्षदेखि गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगर प्रमुख तथा उपप्रमुखसम्म पुर्याउने लक्ष्य तय गर्नुपर्ने सुझाव वक्ताहरूले दिए। साथै, दलित युवाहरू शैक्षिक रूपमा सशक्त बनेर सामाजिक तथा राजनीतिक रूपमै अगाडि बढ्नुपर्नेमा जोड दिइयो।
दलित युवा सञ्जालका कार्यवाहक अध्यक्ष रमेश बोसेलको अध्यक्षता, सदस्य अनिष खातीको सञ्चालन र उपाध्यक्ष हरि रुचालको स्वागतमा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक अगुवा तथा अभियन्ताहरूको उपस्थिति रहेको थियो।
२०६८ सालमा स्थापना भएको सञ्जालले दोस्रो अधिवेशन विभिन्न कारणले ढिला गरी सम्पन्न गरेको जनाएको छ। सञ्जालले सामाजिक सरसफाइ, खेलकुद तथा विभेदविरुद्धका कार्यक्रम गर्दै आएको छ।
कार्यक्रममा सचिव राहुल बोहोराले सञ्जालको प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष सोमबहादुर बोहोराले आर्थिक प्रतिवेदन पेश गरेका थिए।