धरान उपमहानगर कार्यपालिका बैठक स्थगित : बजेट पेश अनिश्चित
नुमाफुङ खबर-धरान, असार ८ — लामो समयदेखि प्रतिक्षामा रहेको धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट र कार्यक्रमका लागि आज बोलाइएको कार्यपालिका बैठक सुरु नहुँदै स्थगित गरिएको छ। उपमेयर अइन्द्रबिक्रम बेघासहित २८ जना कार्यपालिका सदस्यहरुले कानुनी प्रक्रिया र तयारी अपूरा रहेको भन्दै लिखित आपत्ति जनाएपछि मेयर हर्कराज राई (साम्पाङ) ले बैठक स्थगित गर्न बाध्य भएका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० गतेभित्र नगरसभामा बजेट पेश गर्नुपर्ने कानुनी बाध्यता रहेको अवस्थामा आजको बैठक स्थगित भएसँगै धरानको बजेट पेश प्रक्रियामा अनिश्चितता छाएको छ।
आज दिउँसो २ बजेका लागि तय गरिएको बैठकमा प्रमुख प्रशासकीय अधिकृत समेत अनुपस्थित थिए। काठमाडौंबाट आउने क्रममा रहेका प्रशासकीय अधिकृत करिब दुई घण्टा ढिलो हुँदा पनि बैठकमा हाजिर हुन सकेनन्।
उपमेयर बेघाले स्थानीय सरकार सञ्चालन ऐनको दफा ६६ को उपदफा ६ अनुसार बैशाख १० गतेभित्र बजेट सिलिङ तथा सिमा निर्धारण भइसक्नुपर्ने र त्यसको जानकारी बैशाख १५ भित्र सम्बन्धित शाखा तथा वडामा पुगिसक्नुपर्ने प्रावधान स्मरण गराए। तर धरानमा यी सबै प्रक्रिया अवज्ञा गरिएको भन्दै कार्यपालिका सदस्यहरुले असन्तुष्टि जनाएका छन्।
यसअघि बजेट सिमा निर्धारण समितिको बैठकमा पनि विवाद उत्पन्न भएको थियो। मेयर साम्पाङका समर्थकहरुको उपस्थिति र विवादले तनावपूर्ण अवस्था सिर्जना गरेको थियो।
आजको बैठकमा मेयर साम्पाङले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका थिए। तर, उपमेयरसहितका सदस्यहरुले सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेपछि मात्र बैठक आह्वान गर्नुपर्ने माग गर्दै लिखित पत्र बुझाएपछि बैठक स्थगित भएको हो।
स्रोतका अनुसार मेयर साम्पाङले असार १० गते नगरसभा आह्वान गरेर त्यस दिन नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र बजेटमाथि पछि सहमति जुटाउने रणनीति बनाइरहेका छन्। गत वर्ष पनि अन्तिम समयमा सहमतिका आधारमा नगरसभा सञ्चालन गरिएको थियो।
अब धरान उपमहानगरपालिकाले कानुनी समयसीमा भित्र बजेट तथा कार्यक्रम नगरसभामा पेश गर्न सक्ने हो कि भन्ने जिज्ञासा थप बढेको छ।